नरेश ज्ञावली

काठमाडौं। ज्वाहरलाल नेहरु विश्वविद्याय (जेएनयु) दिल्लीका छात्र सँघका अध्यक्ष कन्हैया कुमारलाई भारत सरकारद्धारा लगाईएको राजद्रोेहको मुद्धा खारेज गर्नु पर्ने माग गर्दै राजधानी काठमाडौंमा विद्यार्थीहरुले भारतीय दुतावास अगाडि विरोध प्रदर्शन गरेका छन्।

कन्हैया कुमारलाई लगाइएको झुठो मुद्धा खारेज गर, भारतीय फासिवाद मुर्दावाद, जेएनयूका विद्यार्थीलाई हाम्रो समर्थन, वाक स्वतन्त्रताको सम्मान गर लगायतका नारा लगाउँदै विद्यार्थीहरुले भारतीय दुतावास अगाडि आधा घण्टा धर्ना दिए।

दिल्लीस्थित प्रसिद्ध विश्वविद्यालय जेएनयुमा सन् २०१३ मा फासी दिइएका कश्मिरी युवा अफजल गुरुको विषयमा राखिएको कार्यक्रममा भारतीय सत्ताधारी दल विजेपीको विद्यार्थी संगठनले हमला गरे पछि तथा सो कार्यक्रममा पाकिस्तान समर्थित नारा लागाएको र त्यसको संयोजन विद्यार्थी नेता कन्हैयाले गरेको भन्दै उनीमाथि भारत सरकारले गत साता मात्रै राजद्रोहको मुद्धा लगाएको थियो।

तर विद्यार्थी समर्थित जेएनयुका प्रोफेसर तथा विभिन्न विद्यार्थी संगठनहरुले वाक स्वतन्त्रता कुण्ठीत गर्दै कन्हैयामाथि लागईएको राजद्रोहको मुद्धा भने सरकारको फासीवादी कदमको उदाहरण भएको बताउँदै त्यसको विरोध गर्दै आई रहेका छन्।

राजधानी काठमाडौंमा कार्यक्रमको आयोजना गरेको विप्लव नेतृत्वको नेकपा–माओवादी समर्थित विद्यार्थी संगठनका अध्यक्ष पुर्ण सिंहले भारतीय फासीवादको नाङो रुपको रुपमा अभिव्यक्ति स्वतन्त्रता समेत कुण्ठीत गरिएको भन्दै फासीवादलाई बेलैमा नरोके यसले नेपाल सहित दक्षिण एशियामा नै प्रभाव पार्ने हुनाले प्रर्दशन गर्नु परेको बताए।

कार्यक्रममा सहभागि कवि निभा शाहले भारतमा लोकतन्त्र खुम्चिदै गएकाले यसको लोकतन्त्रको आवाज सिमाविहिन हुने भन्दै आफू प्रर्दशनमा सहभागि हुन आई पुगेको बताइन।

गत शुक्रबार मात्र भारतका सबै बामपन्थी दलहरुले भारत सरकारको सो निर्णयको विरोध गर्दै राजधानी दिल्लीमा आजसम्मकै ठुलो प्रर्दशन गरेका थिए।