बारा र पर्साको झडपमा सात आन्दोलनकारीको मृत्यु, पर्सा दंगाग्रस्त क्षेत्र घोषणा
बारा र पर्साको झडपमा सात आन्दोलनकारीको मृत्यु, पर्सा दंगाग्रस्त क्षेत्र घोषणा
सेना सडकमा आउन सक्ने
काठमाडौं। आन्दोलनरत मधेसी मोर्चा र प्रहरीबीचको झडप थप हिंसात्मक बन्दै जाँदा बारा र पर्सामा गरी सात जनाले ज्यान गुमाएका छन्। दुवै जिल्लाको संवेदनशिलतालाई मध्यनजर गरी स्थानिय प्रशासन ऐन २०२८ अन्तर्गत सेनालाई सडकमा ल्याउने तयारी गरिएको छ।
प्रहरी र प्रदर्शनकारीबीच भएको झडपले अहिले बारा र पर्सा दुबै जिल्लामा तनावग्रस्त अवस्था रहेको छ। पर्साको श्रीपुर प्रहरी चौकी नजिकै भएको झडपमा परी धर्मराज सिंह, देवराज सिंहको मृत्यु भएको छ भने प्रहरी चौकी नगुवा नजिकै भएको झडपमा परी दिनानाथ शाह, सुमन कलवार, भोला शाह र बारा जिल्लाको भरत चोकमा भएको झडपमा परी हिफाजत मिया र उमेश यादवको मृत्यु भएको उच्च प्रहरी स्रोतले जनाएको छ।
खबरडबलीसँग कुरा गर्दै गृहमन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले स्थानिय प्रशासन ऐन २०२८ को दफा २ को क, ख अनुरुप स्थानिय निकायले सेनासँग सहयोग माग्न सक्नेबारे छलफल भैरहेको बताए । सेनालाई सडकमा उतार्नु पूर्व स्थानिय प्रशासनले पर्सालाई दंगाग्रस्त क्षेत्र घोषणा गरी सकेको छ ।
यस अघी सरकारले कैलालीको टिकापुरमा सेना सडकमा उतारेको थियो । गृहप्रवक्ता ढकालका अनुसार अधिकांशले सेना परिचान भन्ने गरिए पनि सेनालाई परिचालन नगरिएको स्पष्ट पार्दै सेनासँग सहयोग मागिएको बताए।
‘सेना परिचालन गरिएको होइन त्यहाँको प्रहरीले र सशस्त्रले स्थिति नियन्त्रणमा लिन नसकेपछि सेनासँग सहयोग मागिएको हो। सेनासँग सहयोग माग्ने बारे स्थानिय प्रशासन ऐनमा स्पष्ट उल्लेख गरिएको छ ।’– प्रवक्ता ढकालले भने ।
बारामा मृत्यु हुनेमा ३० वर्षिय हिफाजत मिया अन्सारीको भरतचोकमा प्रहरीको गोली लागेपछि सडकमै ढलेका थिए । उनको घटनास्थलमा नै तत्काल मृत्यु भएको हो।
बारा र पर्सामा अहिले पनि प्रहरी र प्रदर्शनकारीबिच ठाउँठाउँ झडप भइरहेको स्थानिय प्रशासनले जनाएको छ । कलैयामा प्रहरीले चलाएको रबरको गोली लागी तीन जना घाईते भएका छन् ।
स्थानिय प्रशासनले लगाएको कर्फ्यू उलंघन गर्दै प्रदर्शनमा उत्रिएका बन्दकर्तालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउदा नारायणी उपक्षेत्रिय अस्पतालमा तीन जना घाईते भएका छन् ।
- Copy and pasted from : http://www.khabardabali.com/2015/09/36544/#sthash.1tJnpIna.dpuf


